जोशीलाई टिकट दिन कार्यकर्ताको नेतालाई दबाब

दमौली । नेपाली कांग्रेसका शीर्ष नेताहरुले नेपाली कांग्रेस र राष्ट्रिय राजनीतिमा नै गोविन्दराज जोशीजस्ता बौद्धिक नेताको आवश्यकता रहेकाले पार्टीले उनको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका जोशीलाई टिकट दिनका लागि भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न राजधानी पुगेका जिल्लाका नेता कार्यकर्ताहरुसँगको भेटमा पार्टीका शीर्ष नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कतिपयले जोशीजस्ता क्षमतावान दूरदर्शी नेताको अभाव अहिले कांग्रेसलाई खट्किएको टिप्पणी गर्दै आफूहरुले उनको आवश्यकता महसुस गरेको बताएका छन् ।
पार्टीका उप सभापति एवं उप प्रधानमन्त्री गोपालमान श्रेष्ठले विपरित विचारधाराका वामपन्थी दलसमेत एक भएको अवस्थामा अब कांग्रेस एक हुने भन्दै जोशीलाई नेतृत्वले पछि नपार्ने बताए । ‘अब हामी एक भएर जान्छौं,’ उनले भने,‘उहाँको आवश्यकताको मागको सम्बोधन हुनेछ ।’
पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौलाले राजनीतिक विश्लेषण गर्न सक्ने क्षमता भएको दूरदर्शी नेताका रुपमा जोशीलाई स्मरण गर्दै पार्टीको भूमिकाबाहिर उनलाई राखिनु नहुने बताए । ‘म यसबारे नेतृत्वसँग कुरा राख्छु,’ उनले भने । सिटौलाले राष्ट्रिय राजनीतिमा समेत प्रभाव भएकाले उनलाई समावेश गर्नका लागि नेतृत्वसँग आवाज उठाउने प्रतिबद्धता जनाए ।
नेतृ सुजाता कोइरालाले पार्टीप्रति वफादारिता र ईमान्दार नेता जोशीको आवश्यकतालाई सम्बोधन गर्न नसक्दा पार्टी वैचारिक अडान र नेतृत्वमा पछि परेको भन्दै उनलाई आगामी चुनावमा सम्मानजनक स्थान दिनका लागि आफूले पहल गर्ने बताइन् ।
नेता सेखर कोइरालाले नेता जोशीको क्षमतालाई उपयोग गर्न नसक्दा पार्टीलाई क्षति भएको भन्दै आफूले सबै शीर्ष तहमा उनलाई समावेश गर्नुपर्ने विषय उठाउने बताए ।
तनहुँ साविक क्षेत्र नम्बर १ का अधिकांश महाधिवेशन प्रतिनिधि, विभिन्न भागका कार्यकर्ता तथा साविक क्षेत्र नम्बर २ का ठूलो संख्याका नेता कार्यकर्ता नेता जोशीलाई प्रत्यक्षतर्फको टिकट दिनुपर्ने माग गर्दै पार्टी नेताको ध्यानाकर्षण गराउन केही दिनयता राजधानीमा छन् ।