वडा कार्यालयको राहत

व्यास नगरपालिकाका केही वडाले थालेको सामाजिक सुरक्षा भत्ता वडामै वितरणको अभियान अहिले अन्यत्र पनि फैलिएको छ । खासगरी वृद्धवृद्धाले निकै सास्ती पाए पछि यसको वितरण विधिको आलोचना भएको थियो । असि कटेका देखि त्योभन्दा वृद्धवृद्धाले समेत मासिक भत्ताका लागि बजार झर्दैं बैंकमा लामो समय लाइन लाग्नुपर्ने अवस्था आए पछि त्यसले उनीहरुलाई सुविधाभन्दा सास्ती मात्र थपेको थियो । यस्तोमा जननिर्वाचित प्रतिनिधिले राहत दिनुपर्ने माग उठेको सन्दर्भमा केही वडा कार्यालयले थालेको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत गाउँमै बाँड्ने व्यवस्थाले केही राहत नगरवासीलाई मिलेको छ । यसभन्दा अघि मरेका व्यक्तिले समेत सामाजिक सुरक्षा भत्ता बुझेको चर्चा चले पछि त्यसको आलोचना भएको थियो । व्यवस्थित रेकर्ड नराखिने पद्धतीका कारण दिउँदा मानिसको भत्ता समेत उनीहरुले नपाएको गुनासो सम्बोधन गर्न सरकारले बैंक खातामा रकम सिधै दिने प्रबन्ध गरेको हो । तर बैंकिङ अभ्यास राम्रो नभएको अवस्था अनि वृद्धवृद्धाको सामान्य गर्जो टार्नुपर्ने आवश्यकताका कारण बैंकमा राखिएको पैसा तत्काल भिकिने अवस्था आए पछि खातामा जम्मा गर्ने व्यवस्था अव्यवहारिक बन्न थालेको छ । बचतका हिसाबले भन्ने हो भने बैंक खातामा जम्मा पैसा जहिले झिके पनि हुने हो । तर खाताको पैसा बचत हुन्छ भन्ने चेत फैलाउन  नसकिएको अवस्थामा जसरी हुन्छ सहज वितरण गर्नुपर्ने आवश्यकता बनेको छ । यस्तोमा वडा कार्यालयको कदम प्रशंसनीय छ । एकबाट अर्कोले सिक्ने परम्पराअनुसार शुरुमा एकाध वडाबाट शुरु काम अहिले फैलिएको छ । वडा कार्यालयहरुले नागरिकको मन जित्न उनीहरुलाई अधिक सुविधा दिनेतर्फ सोच्नु आवश्यक छ ।