न्यू रोडमा पार्किङ व्यवस्थित

दमौली ।   दमौलीको न्यू रोडमा पार्किङ व्यवस्थापन गरिएको छ । ट्राफिक प्रहरी कार्यालय तनहुँले रोडको सडक छेउमा पार्किङको प्रबन्ध मिलाएको हो । नेपाल बैंकनजिकैको सडकमा यातायातका साधनको भीड र जथाभावी राखिने गर्नाले आगमन प्रभावित भए पछि व्यवस्थित पार्किङ थालिएको ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए । स्थानीय टोल विकास संस्थाको सक्रियतामा पार्किङ व्यवस्थापन गरिएको उनले बताए । अब एक हप्तासम्म सडकको एक भाग र अर्को हप्ता अर्को भागमा पार्किङ गर्ने गरी प्रबन्ध मिलाइएको छ । यसले आगमनमा सहजता आउने क्षेत्रीले दाबी गरे ।
यसअघि ट्राफिकले सुनचाँदी लाइनमा समेत पार्किङ व्यवस्थापन गरेको थियो । दमौलीको सफासडकमा समेत ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणालीबाट एक सातासम्म एक भागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ । दमौलीका सडकमा सवारी साधनको संख्या बढेसँगै ट्राफिक व्यवस्थापन चुनौती बन्दै आएको छ ।