अन्तर्राष्ट्रिय बालिका दिवसमा ‘टेक ओभर’

दमौली । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाले आफ्ना सवाल रेडियोमार्फत सरोकारवाला निकायका प्रतिनिधिलाई राखेका छन् । सामुदायिक रेडियो प्रसारक संघ र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक रेडियो दमौली एफएम ९४.२ ले आयोजना गरेको ‘शैक्षिक वार्ता’को टेक ओभर विशेष श्रृंखलामा पराशर उच्च मावि व्यास ४ की छात्रा सचिना भट्टराईले बालिका तथा शिक्षाका विविध प्रसंगमा आफ्ना सवाल राखेकी हुन् । 
बुधबार विहान साढे  ७ बजे रेडियोले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा भट्टराईले व्यास नगरपालिकाकी उप प्रमुख मीरा जोशीसँग बालिका शिक्षालाई प्रभावकारी बनाउन योजना सोधिन् । प्रतिउत्तरमा जोशीले नगरपालिकाले शिक्षा क्षेत्रसमेत हेर्ने र आफू बाल बालिकाको प्रभावकारी सिकाईप्रति सचेत रहेको बताइन् । बालिकालाई उपयुक्त शिक्षा नदिएर यदाकदा विभेद अझै पनि हुने गरेको भन्दै त्यसलाई कम गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले नगरपालिकाले शिक्षाको अवस्थामा सुधार ल्याउने पनि बताइन् । उप प्रमुख जोशीले पहिलेको तुलनामा छोरा र छोरीप्रतिको विभेदमा कमि आए पनि अझै पनि अवस्थामा केही सुधार आएको बताइन् ।
तनहुँमा गृहिणी शिक्षामा सक्रिय दिवस नेपाल तनहुँकी सचिव चिनु पोख्रेलले जिल्लामा महिलाको शिक्षाको अवस्था अहिले पनि कमजोर रहेकाले आफूहरुले उनीहरुलाई पनि समाजमा सक्षम बनाउनका लागि गृहिणी शिक्षा थालिएको बताइन् । बालिका र बालकमाथि समान शिक्षा नदिने परम्पराका कारण उनीहरुले गुणस्तरीय शिक्षा पाउन नसकेको भन्दै पोख्रेलले त्यसमा सुधार ल्याउनु आवश्यक रहेको बताइन् । संस्थाले यस वर्ष जिल्लाभर गृहिणी शिक्षा कार्यक्रम थप गर्ने उनले जानकारी दिइन् । 
यसअघि रेडियोमा कार्यक्रम नचलाएका बालिकाहरुलाई उनीहरुले पनि केही गर्न सक्छन् र आफ्ना पक्षमा आवाज उठाउन सक्छन् भनेर देशैभरका तीन सय वटा सामुदायिक रेडियोले एकै दिन रेडियोका कार्यक्रममा प्रस्तोताको भूमिकामा प्रश्न राखेको सामुदायिक रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बताए । रेडियोका स्टेशन इञ्चार्ज एवं सामुदायिक रेडियो प्रसारक संघका प्रदेस ४ कोषाध्यक्ष पवन पौडेलले सामाजिक रुपान्तरणमा सामुदायिक रेडियाले प्रभावकारी भूमिका खेल्न सक्ने पुष्टि भएको बताए । उनले तनहुँसहित प्रदेसका सामुदायिक रेडियोले पनि यस अभियानमा ऐक्यबद्धता जनाएको बताए ।