जोशीको टिकटका पक्षमा कार्यकर्ताको लबिङ

दमौली ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा कसैमाथि अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् । ‘नेपालको परिस्थितिअनुसार कांग्रेससमेत संकटमा पर्न लागेको अवस्थामा आफूले सबै व्यक्ति तथा समूहको विचार सुन्ने र माग सम्बोधन गर्नेछु,’ उनले भने । तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट पूर्व सह महामन्त्री एवं प्रभावशाली नेता गोविन्दराज जोशीलाई टिकट दिनका लागि दबाब अभियान थालेका कांग्रेस कार्यकर्ताहरुसँग बालुवाटारमा भेट्दै उनले अन्याय कोहीमाथि हुन नदिने प्रतिबद्धता जनाएका हुन् । नेता जोशीको प्रभावलाई पार्टीले उपयोग गर्नेबारेमा छलफल भैरहेको भन्दै उनले शीर्ष तहमा छलफल गरेर आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी पार्टीका अर्का प्रभावशाली नेता विमलेन्द्र निधिसँग पनि नेताहरुले भेटवार्ता गरेका छन् । भेटका क्रममा निधिले अहिलेको अवस्था सबैलाई मिलाएर जाने भएको भन्दै पार्टी सभापतिदेखि सबैसँग छलफल गर्ने बताए । ‘उहाँलाई बाहिर राख्नु हुँदैन भन्ने महसुस हामी सबैलाई भएको छ,’ उनले भने,‘देशको विषम स्थितिमा उहाँजत्तिको क्षमतावान मानिसलाई बाहिर राख्नु हुँदैन ।’ उनले आफूले पनि जोशीलाई सम्मानजनक भूमिकामा सक्रिय बनाउन पहल गर्ने बताए ।
यसैगरी पार्टी महामन्त्री डा. शशांक कोइरालासँग समेत टोलीले भेटवार्ता गरेको छ । भेटका क्रममा डा. कोईरालाले नेपाली कांग्रेसको राजनीतिमा जोशीको योगदानबारे आफू जानकार रहेको बताए । अहिलेको अवस्थामा कांग्रेसलाई जोशीको साथ आवश्यक परेको भन्दै उनले टिकटका लागि आवश्यक पहल हुने बताए ।
भेटमा सहभागी नेताहरुले तनहुँ क्षेत्र नम्बर १ मा वाम तालमेलपछि अवस्था सहज नभएको भन्दै बलियो उम्मेदवारलाई मात्र टिकट दिनुपर्ने राय दिएका थिए ।
उनीहरुले विगतमा पनि विकास निर्माणमा नेतृत्व लिएका र अन्य दलका मतदातामाझसमेत लोकप्रिय भएका कारण जोशीलाई प्रत्यक्षतर्फको टिकट दिएमा जीत सहज हुनेमा जोड दिएका थिए ।
पूर्व सभासद उर्मिला थापा, पूर्व डिआइजी खोजबहादुर गुरुङ, महिला संघ केन्द्रीय सदस्य चिनु पोख्रेललगायत क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरु लगायत ठूलो संख्याका नेता कार्यकर्ता केही दिनयता राजधानीमा जोशीका पक्षमा लबिङमा सक्रिय छन् । उनीहरुले धरातलीय यथार्थ बुझेर मात्र टिकटबारे निर्णय गर्न ध्यानाकर्षण गराउँदै सोमबार समेत शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।