सामुदायिक अध्ययन केन्द्रको अवस्था

तनहुँका विभिन्न भागमा सामुदायिक अध्ययन केन्द्रहरु गठन गरिएका छन् । जिल्लाका विभिन्न भागमा गठित केन्द्रहरुले सामुदायिक शिक्षाका लागि प्रभावकारी ढंगले काम गर्नु पर्ने हो । तर धेरै ठाउँमा गठित यस्ता केन्द्रको प्रभावकारिता न्युन देखिएको छ । समुदायमा अध्ययन गर्ने, छलफल गर्ने चौतारीका रुपमा केन्द्रले काम गर्नु पर्ने हो तर धेरै ठाउँमा केन्द्र अनुदानका लागि मात्र देखाउने भाँडो बन्न पुगेको छ । जिल्ला शिक्षा कार्यालय तनहुँले सामुदायिक अध्ययन केन्द्रमा पुस्तकालय तथा आयआर्जन समेतका लागि ठूलो लगानी गरेको छ । अध्ययन केन्द्रमार्फत शाक्षरता कक्षा सञ्चालनका लागि वर्षेनी कर्मचारीका लागि तलबसहितका सेवा सुविधा पनि प्रदान गरिरहेको छ । तर केन्द्रको सञ्चालनमा स्थानीय समुदायले अपनत्व लिन सकेका छैनन् । सहि अर्थमा प्रयोग हुने हो भने समुदायमा शिक्षास्तर उकास्नका लागि सामुदायिक अध्ययन केन्द्रहरुको भूमिका बलियो हुनेमा शंका छैन । आफुले वर्षेनी लगानी गरिरहेको केन्द्रको प्रभावकारीता न्यून भएको अवस्थाबारे जिल्ला शिक्षा कार्यालयले पनि निगरानी र सुधारका उपाय अपनाउनुपर्ने देखिन्छ ।