जोशीको प्रभावलाई काँग्रेसले उपयोग गर्छः शसांक

दमौली ।   नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासँग तनहुँका नेताहरुले प्रभावशाली नेता जोशीको आवश्यकताबारे बिहीबार छलफल गरेका छन् । छलफलका क्रममा नेता कोइरालाले बीपीको पालादेखिको प्रभावशाली नेता भएकाले उनको अभाव वर्तमान राजनीतिमा खट्किएको महशुस गरेको र जोशीलाई अब नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनाउनका लागी आफू पार्टी बैठक मार्फत नै प्रधानमन्त्री तथा वरिष्ठ नेतासँग छलफल चलाई उचित स्थान दिन लागी पर्ने  प्रतिबद्धता जनाएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट पूर्व सह महामन्त्री एवं प्रभावशाली नेता गोविन्दराज जोशीलाई टिकट दिनका लागि दबाब अभियान थालेका कांग्रेस कार्यकर्ताहरुसँग काठमाडौंमा भेट्दै उनले नेता जोशीको प्रभावलाई पार्टीले उपयोग गर्नेबारेमा छलफल भैरहेको भन्दै शीर्ष तहमा छलफल गरेर आवश्यक व्यवस्थापन गर्न आफु लागी पर्ने प्रतिबद्धता जनाए ।
यसैगरी पार्टीका अर्का प्रभावशाली नेता प्रकाशमान सिंहसँग पनि नेताहरुले भेटवार्ता गरेका छन् । भेटका क्रममा सिंहले अहिलेको अवस्था सबैलाई मिलाएर जाने भएको भन्दै पार्टी सभापतिदेखि सबैसँग छलफल गर्ने बताए । ‘उहाँलाई बाहिर राख्नु हुँदैन भन्ने महसुस हामी सबैलाई भएको छ,’ उनले भने,‘देशको विषम स्थितिमा उहाँजत्तिको क्षमतावान मानिसलाई बाहिर राख्नु हुँदैन ।’ उनले आफूले पनि जोशीलाई सम्मानजनक भूमिकामा सक्रिय बनाउन चाहेको मनशाय व्यक्त गरे ।
भेटमा सहभागी नेताहरुले तनहुँ क्षेत्र नम्बर १ मा वाम तालमेलपछि अवस्था असहज भएको भन्दै बलियो उम्मेदवारलाई मात्र टिकट दिनुपर्ने राय दिएका थिए ।
उनीहरुले विगतमा पनि समाज, क्षेत्र र राष्ट्रको चौतर्फी हकहितलाई ध्यान दिने प्रभावशाली नेता जोशीलाई टिकट नदिएमा नेपाली काँग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने धारणा राखेका थिए । जोशीलाई टिकट दिएमा अन्य दलका मतदातामाझसमेत लोकप्रिय भएका कारण प्रत्यक्षतर्फको जीत सहज हुनेमा जोड दिएका थिए ।
पूर्व सभासद उर्मिला थापा, पूर्व डिआइजी खोजबहादुर गुरुङ, महिला संघ केन्द्रीय सदस्य चिनु पोख्रेललगायत क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरु लगायत ठूलो संख्याका नेता कार्यकर्ता केही दिनयता राजधानीमा जोशीका पक्षमा लबिङमा सक्रिय छन् । उनीहरुले धरातलीय यथार्थ बुझेर मात्र टिकटबारे निर्णय गर्न ध्यानाकर्षण गराउँदै सोमबार समेत शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।