नदीमा जेसिबी राखेर अबैध तस्करी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीस्थित कुडुलेघाटमा नदीमै जेसिबी राखेर गिटी बालुवा झिकिएको छ । जिल्ला समन्वय समितिबाट ठेक्का पाएको छिम्केश्वरी निर्माण सेवाका सञ्चालकले नियमविपरित नदीमै जेसिबी राखेर गिटी बालुवा झिकेको पाइएको छ । समितिले ३५ लाख रुपैयाँमा ठेक्का लगाएको घाटबाट दिनहुँजसो दुईवटासम्म जेसिबी नदीमा राखेर गिटी बालुवा झिक्दासमेत रोक्नका लागि कसैबाट पहल भएको छैन । समन्वय समितिले ठेक्का सम्झौता गर्दा नदीमा उपकरण प्रयोग गर्न नपाउने तथा वातावरणीय प्रभाव पर्न नहुने भनेको छ । तर छिम्केश्वरीले भने त्यसको उल्लंघन गर्दै दिनहुँ कैयौं टिूप गिटी बालुवा झिक्दासमेत प्रशासन र प्रहरीले काम रोक्न पहल गरेको छैन । स्थानीयले प्रहरीकोसमेत घटनामा मिलेमतो रहेको दाबी गरेका छन् । 
नदीमै यसरी स्काभेटर तथा जेसिबी राखेर गिटी बालुवा झिक्दा पर्यावरणमा नकारात्मक असर पर्ने भएका कारण कहीं पनि यसरी झिक्न दिइन्न । यसअघि पनि पटक पटक नदीमा उपकरण राखेर गिटी बालुवा झिकेको भन्दै अनुगमन गरिंदै आए पनि अझैसम्म पनि काम नरोकिनुमा सम्बद्ध निकायको मिलेमतो हुनसक्ने आशंका स्थानीयको छ । उनीहरुले पटक पटक नियमविपरित काम रोक्नका लागि स्थानीय आँबुखैरेनी गाउँपालिका, प्रहरी तथा जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । तर ठेकेदार र उनीहरुद्वारा परिचालित युवाका कारण उनीहरु समेत आवाज उठाउन डराउँदै आएका छन् । प्रशासनले गत भाद्रताका पनि उजुरी आएको भन्दै तत्काल उपकरण हटाउन आदेश दिए पनि फेरि पुरानै अवस्था दोहोरिएको छ । तर कन्सटूक्सनका सञ्चालक शेरबहादुर गुरुङ भने आफूले नियम नमिचेको दाबी गर्छन् । ‘पहिले नदीको सतह बढेका बेला केही दिन झिकिएको थियो,’ उनले भने,‘अहिले जेसीबी लगाउन छाडिएको छ ।’ तर उनले त्यसो भए पनि अबैध गिटी बालुवा झिक्ने काम भने आईतबारसम्म पनि जारी थियो ।
मस्र्याङदी जलविद्युत आयोजनाको बाँध नजिकै यसरी उपकरण लगाएर दैनिक ठूलो परिमाणमा गिटी बालुवा झिक्दा बाँध समेत खतरामा पर्ने कतिपय विज्ञहरुको भनाई छ । तर यति ठूलो कुरामा पनि सम्बद्ध निकाय बेखबर बनिरहेका छन् ।
स्थानीय विकास अधिकारी अञ्जन न्यौपाने आफूहरुले नियम विपरित गिटी बालुवा झिकेको थाहा पाए पछि अनुगमन टोली खटाएर रोक्नका लागि निर्देशन दिएको बताउँछन् । युवाहरुको ठूलो जमघटका कारण जोकोही कर्मचारी अनुगमनका लागि समेत जान डराउने उनको भनाई छ । आफूहरुले नियम पालना नभएको थाहा पाउनासाथ कारबाहीका लागि प्रशासनलाई लेखेको पत्र नै देखाएका उनले अब आफूहरुले मात्र रोक्न नसक्ने संकेत गर्छन्
समन्वय समितिले हरेक घाटको ठेक्का लगाउँदा शर्तहरु तोकेको हुन्छ । र, यदि त्यसको पालना नभएमा ठेक्का सम्झौता तोड्नेसम्मको अधिकार उनीहरुसँग रहन्छ । तर पनि समन्वय समिति निरिह बनिरहेको छ । समितिका प्रमुख शान्तिरमण वाग्ले नियमविपरित काम भएको उजुरी आउनासाथ कारबाहीका लागि समिति नै बनाएर खटाएको बताउँछन् ।
तर समिति बनाए पनि काम नरोकिनुमा स्थानीय प्रहरी र प्रशासनको असहयोग र मिलेमतोको आशंका गरिएको छ । यद्यपि सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल नियमअनुसार काम हुनुपर्ने दाबी गर्छन् । ‘हामीले नियमविपरितको काम रोक्न सचेत गराएका थियौं । त्यसो नहुनुपर्ने हो,’ उनले भने,‘यदि भएको रहेछ भने हामी रोक्छौं ।’