७४ वर्षे उमेरमा डा. रिताको तन्नेरी जोश

पवन पौडेल
थर्पु । उमेरले ७४ वर्ष पुगिसकेकी डा. रिता थापा बुधबार तनहुँ म्याग्दे गाउँपालिकाको मिन मावि प्रांगणमा बालबालिकामाझ भेटिइन् । झण्डै तीन दशक स्वास्थ्य क्षेत्रमा मूलुकलाई सघाइसकेकी उनले केही समय संयुक्त राष्ट्रसंघमा समेत स्वास्थ्य विज्ञका रुपमा सेवा दिइसकिन् । तर जीवनभरको थकानबाट आराम लिने समयमा उनी भने अहिले फरक भूमिकामा स्वास्थ्य अभियान लिएर बेला बेला गाउँ वस्ती चहार्छिन् । 
नेपालको राजनीतिका कुनै समयका प्रभावशाली राजनीतिज्ञ अनि कुटनीतिज्ञ डा. भेषबहादुर थापाकी पत्नी हुन्, डा. रिता । थापा दम्पत्तीलाई पद, पैसा र सम्मानको कमी होला भनेर कसैले सोच्दैन । तर पनि यो उमेरमा बुढ्यौलीलाई पन्छाउँदै युवापन भरेर किन दौडिरहेकी होलिन् उनी । प्रश्न भुइंमा झर्न नपाउँदै उनको अनुहारमा मलिन भाव देखियो । बाबुआमाको सपना अनि आफ्नै आकांक्षा पुरा गर्नका लागि अमेरिका होमिएका एक मात्र छोरा भास्करले ४९ वर्षकै उमेरमा हृदयाघातका कारण ज्यान गुमाएपछि दम्पत्तीको सहारा हरिएको छ । ‘हामीले त कलिलै उमेरमा छोरा गुमाउनुप¥यो,’ मनमा पीडा भए पनि त्यसलाई लुकाउन प्रयास गरिरहेकी रिताले भनिन्,‘अरु कसैले त्यस्तो अवस्था भोग्नु नपरोस् भनेर लागेकी छु ।’ 
बाबुआमा जस्तै हुने बिरुवाको चिल्लो पात थिए, भास्कर । देशमा भौगर्भिक अनुसन्धान अनि विकास कम भएको कुरा बिझाएपछि बाबुआमाकै अनुमतिमा उनी भूगर्भशास्त्र अध्ययनका लागि अमेरिका भासिएका थिए । बर्कले युनिभर्सिटीमा विद्यावारिधीपछि मूलुकमै सेवा गर्ने सपना बनाएका भास्करले अकस्मात हृदयाघातका कारण संसार त्यागेपछि स्वास्थ्यमा लामो विज्ञता देखाएकी उनै रितालाई यसले ठूलो आघात पु¥यायो । त्यसयता छोराकै नाममा प्रतिष्ठान खोलेर कलिलो उमेरका बालबालिकालाई सानैदेखि स्वास्थ्यप्रति सचेत बनाउने उनको यात्रा अविराम चलिरहेको छ । ‘हाम्रो पाठ्यक्रमले बालबालिकालाई शिक्षा त दियो,’ उनले भनिन्,‘तर व्यवहारिकता सिकाएन । अझै पनि जंक फुडको प्रयोग, व्यायामको कमी ठूलो समस्याका रुपमा देखिन्छ ।’ उनले केही विद्यालयमा प्रयोगका रुपमा सफल भए पछि राष्ट्रव्यापी रुपमा स्वास्थ्य सचेतना अभियान लिएर उनी विद्यालय चहार्दै हिंडिरहेकी छन् ।
उनले स्थापना गरेको भास्कर फाउण्डेसनले अहिले नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरुका बालकालिकालाई नसर्ने रोगबाट बच्न अपनाउनुपर्ने जीवनशैलीबारे प्रशिक्षण दिइरहेको छ । 
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा जटिल रोगका पीडितलाई अनुदान दिन थाले पनि संख्या धेरै भएकाले पु¥याउन कठिन भएको सुनाइन् । ‘हामीकहाँ समस्या जटिल बन्न थालेको छ,’ उनले भनिन्,‘दीर्घरोगबाट बच्न सानै उमेरका बालबालिकालाई दिएको सिकाई उपयोगी हुन सक्छ ।’ गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पनि सानै उमेरबाट स्वास्थ्यप्रति सचेतना जगाउन थालिएको प्रयास सराहनीय भएको बताए । 
कुराकानीलाई बिट मार्नै लाग्दा डा. रिता भन्दै थिइन्,‘सबै बालबालिका र अभिभावकलाई समयमै सचेत बन्न भनिदिनुहोला ।’