चुनावी सुरक्षा

मंसीर २१ गतेका लागि तोकिएको प्रदेस तथा संघीय निर्वाचनका लागि स्थानीय प्रशासनले तयारी थालेको छ । चुनावको दिन नजिकिंदै जाँदा आवश्यक तयारीहरु समयमै गरेको राम्रो हो । खासगरी सुरक्षा, कर्मचारी व्यवस्थापन तथा निष्पक्ष चुनावी वातावरण बनाउनका लागि प्रशासनले समयमै पहल गर्नु जरुरी रहन्छ । तनहुँमा कतिपय दलले आधिकारिक तथा कतिपयले अनौपचारिक रुपमा अधिकांशजसो ठाउँका लागि उम्मेदवारको नाम टुंग्याइसकेका छन् । अब उम्मेदवारहरुले चुनावी तयारी समेत थालेको अवस्थामा आचारसंहिता उल्लंघनका घटनाहरु हुन सक्दछन् । चुनावका बेला हुनसक्ने आचारसंहिता र नैतिक बन्धनबाहिरका घटना रोक्नका लागि प्रशासनले दल र उम्मेदवारहरुबीच छलफल र समन्वय बढाउनु जरुरी छ । चुनावका क्रममा नियमको उल्लंघन र बलमिच्याइंका घटना अनि एक आपसमा झडप वा तिक्तता आउन नदिनका लागि वातावरण मिलाउने र न्यूनतम साझेदारी गराउने काम प्रशासनको हो । मुख्य निर्वाचन अधिकृतको सहयोगी बनेर प्रशासनले भूमिका खेल्नु जरुरी छ । सँगै जिल्ला निर्वाचन कार्यालयले समेत आफ्नो कामलाई चुस्त बनाउनु जरुरी छ । चुनावी सचेतनाका कुराहरु प्र्याप्त मात्रमा जनसमक्ष नपुगेको विगतको गुनासोपछि अब प्रभावकारी माध्यम र सञ्चारकर्मीको समेत साथ लिएर कार्यालयले चुनावी सचेतनाका काम अघि बढाउनु जरुरी छ ।